समाचार

एसईई परीक्षा वैशाखमा गर्ने तयारी

काठमाडौं । यो वर्षको एसईई परीक्षा वैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो । गत वर्ष जेठ १३ बाट शुरू भएको थियो । यो वर्ष चैतसम्म अध्ययन गर्ने वातावरण तयार गरी वैशाखमा गर्ने गरी तयारी भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी छलफल भइरहेको बताए । उनले भने,– ‘कुन मोडलमा कहिलेबाट गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ सरोकारवालासँग अनौपचारिक छलफल गर्दा वैशाखमा परीक्षा लिने विषयमा मन्त्रालयले तयारी गरेको उनको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने परीक्षाको विषयमा छलफल नभएको बताए । उनका अनुसार सोलगायत अन्य विषयमा छलफल गर्न आइतबार बोर्डको बैठक बोलाइएको छ । मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति गरेपछि उहाँको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो ।

यसअघि, बोर्डका सदस्य सचिव दुर्गा अर्यालसहितको बैठकले एसईई परीक्षाको मिति तय गर्ने विषयमा सरकारी विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको थियो । सो क्रममा प्रअहरूले चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा लिने गरी तयारी गर्नुपर्ने सुझाव दिएका थिए । एक बोर्ड सदस्यका अनुसार एसईई परीक्षा चाँडोमा चैत अन्तिम नभए वैशाख पहिलो साता हुने गरी तयारी भइरहेको छ ।

अध्यक्ष शर्माले सो विषयमा आइतबार बस्ने बोर्ड बैठकमा छलफल हुने बताए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन लागि परेका हुन् । यही सरकारले संघीय शिक्षा ऐन ल्याएर एसईई खारेज गर्ने गरी अघि बढेको एक कर्मचारीले बताए ।

ऐन खारेज नभएसम्म एसईई परीक्षा खारेज गर्न नसकिने बुझेपछि मन्त्री पौडेल अध्यादेशबाट ऐन ल्याउने पक्षमा रहनुभएको छ । नन्दीरात्रि माविका प्रअ राजेन्द्र अधिकारीले सरकारले ऐन ल्याएर परीक्षा खारेज गर्न खोजिरहेको बताउँदै परीक्षाको विषयमा अन्योल भएको उल्लेख गरे । उनले भने, ‘खै परीक्षा कहिले गर्छन्, मन्त्रीज्यूले संघीय शिक्षा ऐन ल्याउन लागेको सुनेको छु, यो विषयमा प्रअहरू अनविज्ञ छन् ।’ सरकारले गत वर्ष शिक्षा नियमावली संशोधन गरी आन्तरिक मूल्यांकनबाट परीक्षा लिने निर्णय गरेको थियो । सोही आधारमा जेठमा परीक्षा सञ्चालन भएको थियो । मन्त्रालयका प्रवक्ता शर्माका अनुसार यो वर्ष कसरी गर्ने भन्ने निर्णय बोर्डले गर्नेछ भने ।

गत वर्ष राप बोर्डले तयार गरेको कार्यविधिको आधारमा परीक्षा सञ्चालन भएको थियो । उता शिक्षक सेवा आयोगले शिक्षक सेवा आयोगको परीक्षा चैत १५ बाट शुरू हुने भएकाले एसईई परीक्षा मिति सार्न आग्रह गरेको थियो । सोही आधारमा परीक्षाको मिति पछि सर्ने भएको हो । आयोगले १५ देखि २० सम्म परीक्षा मिति तय गरेको थियो । आयोगको आग्रहमा एसईई परीक्षा वैशाखमा हुने लगभग पक्का भएको छ । परीक्षाको मोडल र विधिको बारेमा आइतबार बस्ने बोर्डले निर्णय गर्ने तयारी गरेको छ । आजको नेपाल समाचार पत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *