एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ।
ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो। बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो। यो निर्णय सोमवारबाटै लागु हुनेछ।
भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको विवरण आएका छन्। दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन्।
तर कैयौँ मानिसले अधिकांश ठूला भेलाहरू दिनमा हुने गरेका भन्दै पछिल्ला घोषणाबारे प्रश्न उठाइरहेका छन्। हालसम्म भारतमा चार सयभन्दा बढी ओमिक्रोन भेरिअन्ट सङ्क्रमणका घटना पुष्टि भएका छन्।




