ताजा समाचार

एसीसी यू–१९ एसिया कपः बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौँ । नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा शुक्रबार बंगलादेशको सामना गर्दै छ । यूएईमा जारी प्रतियोगितामा नेपाल र बंगलादेश दुवैको पहिलो खेल हो । आईसीसी यू–१९ विश्वकप विजेता बंगलादेश यू–१९ एसिया कपको पछिल्लो संस्करण फाइनलमा भारतसँग पराजित थियो ।

नेपाली टोलीका धेरै खेलाडीसँग अन्तर्राष्ट्रिय अनुभव छैन । कप्तान देव खनाललगायत धेरै खेलाडी पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । शारजहाँमा हुने खेलबाट नेपाली यू–१९ टोलीको परिक्षण हुनेछ । नेपाल सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सेमिफाइनलसम्म पुगेको थियो । नेपाल यू–१९ एसिया कपको सेमिफाइनल पुगेको यो एकमात्र अवसर हो ।

नेपाल र बंगलादेश समावेश समूह ‘बी’ को बिहीबारको खेलमा श्रीलंकाले कुवेतलाई २ सय ७४ रनले पराजित गरेको छ । श्रीलंकाले चार खेलाडीको अर्धशतकमा पहिला ब्याटिङ गर्दै ३२३–५ को स्कोर बनाएको थियो भने जवाफमा आएको कुवेतलाई १७।३ ओभरमा ४९ रनमै अलआउट गरेको थियो ।

समूह ‘ए’ भारतले यूएईलाई १ सय ५४ रनले र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले पराजित गरे । ओपनर हरनुर सिंहले १ सय ३० बलमा ११ चौका प्रहार गरी १ सय २० रन बनाएपछि भारतले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाई २ सय ८२ रन बनाएको थियो । जवाफमा यूएई ३४।३ ओभरमा १ सय २८ रनमा अलआउट भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *