ताजा समाचार

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा लाखाैं झ्वाम् !

काठमाडौँ । काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति कल्पनासँग सम्पर्कविहीन बने ।

चिट्ठाको प्रलोभनमा अपरिचितबाट ठगिएको भन्दै कल्पनाले प्रहरीलाई गुहारिन् र प्रहरीको सक्रियताले उनको बैङ्क खातामा रहेको नौ लाख भने ठगिन पाएन ।
विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित) समेत यसरी ठगिएका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक केदार (नाम परिवर्तन) ले पनि झुटो सन्देशकै भरमा नचिनेका व्यक्तिलाई बैङ्कबाट एक लाख रुपियाँ पठाए ।

यी प्रतिनिधि घटनाका पीडित आफूले नभरेको च्टिठा पाउने प्रलोभनमा ठगिएका हुन् । प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले उनीहरूको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ ।
फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको दुरुपयोगबाट गत वर्ष तीन हजार नौ सयभन्दा बढी पीडित भएका छन् । साइबर ब्युरोका प्रमुख (प्रहरी नायब महानिरीक्षक) रामकृपाल साहले ठगिनेमा सामान्य व्यक्तिका साथै शिक्षितसमेत रहेको भन्दै यो क्रम बढेको जानकारी दिए ।

साइबर अपराधका घटना पछिल्लो समय एकदमै बढेको तथ्याङ्कले देखाएको छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०७५र७६ मा ३५७ जना पीडित, आव ०७६र७७ मा दुई हजार ३०१ र ०७७र७८ मा तीन हजार ९०६ पीडितले उजुरी गरेका थिए ।

गाेरखापत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *