काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुनःनिर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी कामपालाई हस्तान्तरण गरेको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरको हुन् । पोखरीको काम सम्पन्न भए पनि पोखरीबाहिर १० प्रतिशत काम अझैँ बाँकी छ । उक्त काम भने शहरी विकास मन्त्रालयले गर्नेछ ।
स्वामित्व हस्तान्तरण कार्यक्रमपछि प्रमुख शाक्यले रानीपोखरी पुनःनिर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको बताए।
पुनःनिर्मित ऐतिहासिक सम्पदा कामपाको स्वामित्वमा आएको भए पनि यो कामपाको मात्रै सम्पत्ति नभई राष्ट्रको सम्पत्तिको हो भन्दै महानगर उपप्रमुख हरिप्रभा खड्गीले यसको संरक्षण गर्नु सबैको साझा दाहित्व भएको बताइन् ।
भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गरेको थिइन्।
रानीपोखरी पुनःनिर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेदेखि शुरु भएको थियो । प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले करिब ३६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनःनिर्माण गर्ने काम चुनौतिपूर्ण भए पनि पूरा भएको भन्दै खुसी व्यक्त गरे ।
पुनःनिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनःनिर्माणका लागि उपभोक्ता समितिमार्फत रु आठ करोड १५ लाख र पहिलो चरणअन्तरगत नै सौन्दय अभिवृद्धि, बालगोपालेश्वर मन्दिर निर्माण, पुनःनिर्माणलगायतका लागि रु १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए ।
ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा कामपाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।
प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ ९विसं १७२५०मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७÷ईसं १६७०) मा शिलापत्र राखिएको थियो ।
पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।




