काठमाडौँ ।करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्तमध्येका एक ‘काले’ भनिने कृष्णगोपाल अग्रवाललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ । मङ्गलबार थुनछेकको बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाका अनुसार मङ्गलबार थुनछेक बहसपछि दुई लाख धरौटीमा उनलाई छाड्ने आदेश भएको हो ।
तस्करीको साढे ३३ किलो हराएपछि सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया सनम शाक्यको हत्या गरेकाे थियो । हत्या अभियाेगमा गोरेसहित आठ जनालाई कैद फैसला भएको छ । सुनतस्करी प्रकरणमा भने उनीहरूले उन्मुक्ति पाएका छन् ।
काले भनिने कृष्णगोपाल अग्रवाल तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ले तस्करी गर्ने व्यवस्थापनमा हुने तस्करीकाे सुनको लगानीकर्तामध्येका एक हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा युएईबाट नेपाल डिपोर्ट भएका उनलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।
गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी,अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’ मा उनी प्रतिवादी थिए । पक्राउ परेका अन्य प्रतिवादीहरूले सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।




