राजनीति

भीष्मराज आङ्देम्बेद्वारा काङ्ग्रेस सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं ।नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा काङ्ग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यसमेत रहेका आङ्देम्बेले १४औँ महाधिवेशनमा आफूले सहमहामन्त्री आदिवासी/जनजाति) पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता आङ्देम्बेले नेपाली काङ्ग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउँदै २१औँ शताब्दीको पार्टीमा रुपान्तरित गरी २१औँ शताब्दीका युवा उमेर र सोचहरूलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्न सकिन्छ र त्यही ढङ्गबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकाले आफूले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए ।


आदिवासी÷जनजातिको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए । कार्यक्रममा बोल्दै नेता आङदेम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली काङ्ग्रेसलाई सबल र एकताबद्ध बनाउन आफूले पहल गर्ने पनि दाबी गरे ।

आङदेम्बेले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रूपमा गतिशील र भावनात्मक रूपमा एकताबद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रूपमा विकास गर्ने पनि प्रतिबद्धता गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *