काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै भएको बताएका छन् ।
सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपालले आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम रहने बताइरहँदा देउवाले त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा कांग्रेस सभापतिसमेत रहेका देउवाले राष्ट्रियसभाको चुनावपछि गठबन्धन रहने कि नरहने भन्ने विषयमा कुनै छलफल नभएको बताए ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ। तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ। १ जना राष्ट्रपतिबाट मनोनित हुनेछ ।
देउवाले १४औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको बताएका छन् ।
यस्तै, देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताए । उनले भने,“म पार्टीको विधानवमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । म प्रधानमन्त्री पनि छु । यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएको हुँ । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । त्यसैले मैले पार्टीका साथीहरुलाई पनि आग्रह गरेको छु । तपाईंहरुमार्फत् सबैलाई आग्रह गर्न चाहन्छु । एकपटक मलाई सहयोग गरिदिनुस् ।”
प्रधानमन्त्री देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने पनि बताए । कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुःख नदिने उनले बताए ।




