काठमाडौं । काठमाडौमा जारी शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा संकटा क्लब र मनाङ मस्याङ्दी क्लब बराबरीमा रोकिएका छन् ।
शनिबार सम्पन्न खेलमा संकटा र मनाङले २-२ गोलको बराबरी खेलेका हुन् ।
२-१ ले पछि परेको अवस्थामा मनाङले खेलमा कमब्याक गर्दै खेलको ९० मिनेट पछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेको थियो । मनाङलाई हारबाट बचाउन फ्र्यांकलिन कोइटेले निर्णायक गोल गर्दै खेल बराबरी गरेका थिए ।
संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरेका थिए । संकटाका लागि बस्नेतले खेलको ३१औं मिनेटमा पहिलो गोल गरेका थिए भने राईले खेलको ७०औ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै मनाङका लागि पहिलो गोल खेलको ३५औं मिनेटमा दयानन्द सिंहले गरेका थिए ।
यो खेलपछि संकटा अपराजित रहदै ३ खेलमा ५ अंक भएको छ । संकटाले यस अघिका खेलमा एक जित र एक बराबरी खेलेको थियो ।
त्यस्तै यस अघि दुवै खेल जितेको मनाङले तेस्रो खेल बराबरी खेल्दै ३ खेलमा ७ अंक हासिल गरेको छ ।




