कर्णाली।नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्वको लागि सुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट प्रदेश सभापतिमा उम्मेदवारी दर्ता भएको हो ।
देउवा पक्षबाट प्रदेश सभापतिमा ललितजङ्ग शाही, निधिबाट मोतिराज बम र पौडेल पक्षबाट भुपेन्द्रजङ्ग शाहीले मनोनयन दर्ता गरेका छन् । ललितजङ्ग जुम्ला, मोतिराज र भुपेन्द्रजङ्ग शाही कालिकोटका हुन् ।यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्णकुमार बिसीले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेतका केसी तरुण दलका पूर्वकेन्द्रीय उपाध्यक्ष र बिसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् ।
उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन र दाबी विरोध पनि आजै गर्ने कार्यतालिका बनाइएको छ । उम्मेदवारी फिर्ता भोलि बिहान ७ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली साढे ७ बजे प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ ।
मतदान भने भोलि दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म हुने कार्यतालिका छ । कर्णालीमा प्रदेश प्रतिनिधि चार सय ३३ र महाधिवेशन प्रतिनिधि तीन सय १६ गरी सात सय ४९ जना मतदाता छन् ।




