जुम्ला।जुम्ला कांग्रेसको ७औँ अधिवेशनमा जिल्ला सभापतिका लागि दीपबहादुर शाही र कर्णबहादुर शाहीबीच चर्काे प्रतिस्पर्धा हुने भएकाे छ ।
कांग्रेसका तत्कालीन सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि दीपबहादुर शाहीले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए ।उनले करिब दुई कार्यकाल जिल्ला सभापति चलाइसकेका छन् । उनी यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका एक्ला उम्मेदवार हुन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही कांग्रेस जुम्लाका सचिव हुन् । अहिले दुवै पक्षले उम्मेदवारी घोषणा गरेसँगै प्रचारप्रसारमा जुटेका छन् । पौडेल प्यानलबाट सभापतिमा दीपबहादुर शाही, उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाईले उम्मेदवार दिएका छन् । उपसभापति कार्मा बुढा जिल्ला समन्वय समितिका उपप्रमुख हुन् ।
पालिका अधिवेशनमा आठमध्ये ६ र प्रदेशका दुई वटै क्षेत्र एकलौटी जितेकाले पौडेल पक्ष निर्वाचन जित्ने अपेक्षामा छ तर देउवा पक्षले पनि जित आफ्नाे पक्षमा हुने दाबी गरेकाे छ ।
प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि छ । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाही, उपसभापतिमा नन्दराम बुढा र मक्कबहादुर हमाल, सचिवमा घनश्याम थापा र दानबहादुर बुढा, सहसचिव नवराज देवकोटा र धनबहादुर रावतको उम्मेदवारी घोषणा भइसकेको छ । सचिवका उम्मेदवार दानबहादुर बुढा स्थानीय तहको निर्वाचनमा गुठीचौर गाउँपालिका अध्यक्षका प्रत्यासी हुन्। गुठीचौरमा कांग्रेसमा लहर ल्याउने नेतामा पर्छन् ।
देउवा पक्षले एक महिनाअघि नै पदाधिकारीको टुंगो लगाइसकेको थियो। हाम्रो जित्ने अवस्था, क्षेत्रीय सदस्य भक्त बुढाले भने,‘पार्टी जोगाउनु पर्छ। पार्टीका मूल्य मान्यता गाउँस्तरसम्म स्थापित गर्नु पर्छ। जसका लागि देउवा पक्षको पदाधिकारी समूह निकै सक्षम देखिएको छ। त्यसैले यो पटक जिल्ला नेतृत्वमा देउवा पक्षको जित सुनिश्चित छ ।’
जिल्ला समितिको पदाधिकारीसहित ५९ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि २५ पदमा मतदान हुने भएको हो । कुल एक हजार १८ मतदातामा करिब नाै सय ५० मत खस्ने विश्वास गरिएकाे छ ।




