काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि पेसी तोकेका छन् । प्रधानन्यायाधीशले सोमबारका लागि ४५४ वटा रिट तथा मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका छन् ।
सोमबार ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् । केही समययता न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने बताएपछि उनले आफू बाहेकको इजलास गठन गर्दै आएका छन् ।
गत बुधबार सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर, उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएकाले गोलाप्रथा सुरु हुन सकेको छैन । नियमावली संशोधन राजपत्रमा प्रकाशन भएपनि पुनः फुलकोर्ट बसेर गोलाप्रथा कार्यान्वयनमा लैजाने निर्णय भएको प्रवक्ता बाबुराम दाहालले बताए ।
सर्वोच्च अदालत प्रशासनले बिहीबार नै संशोधित नियमावली मुद्रण विभागमा पठाएको थियो । मुद्रण विभागका अनुसार संशोधित नियमावली प्रकाशनको काम अन्तिम चरणमा पुगेको र सोमबार साँझसम्म प्रकाशन हुने तयारीमा छ ।




