काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्ध टी-२० सिरिज क्लिन स्वीप गरेको छ ।
आइतबार राति सम्पन्न सिरिजको अन्तिम खेल ७३ रनले जितेर सिरिज क्लिन स्वीप गरेको हो ।
भारतले दिएको १८५ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १७.२ ओभरमा १११ रन बनाएर अल आउट भएपछि खेल ७३ रनले गुमाएको हो ।
न्यूजिल्याण्डका मार्टिन गप्टिलले ५१ रन बनाए भने टिम सेइफेर्टले १७ र लुकी फर्गुसनले १४ रन बनाए । न्यूजील्याण्डका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै भारतका बलर अक्सर पटेलले ३ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिएका थिए । त्यस्तै दीपक चहर, युजवेन्द्र चहल र वेंकटेश अय्यरले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
भारतका लागि रोहित शर्माले ५६ रन बनाएका थिए भने इशान किशनले २९ रन बनाएका थिए । त्यस्तै श्रेयस अय्यरले २५, वेंकटेश अय्यरले २० रन, दीपक चहरले २१ र हर्षल पटेलले १८ रन बनाएको थिए ।
त्यस्तै न्यूजील्याण्डका बलर मिचेल सान्टनरले ३ विकेट लिएका थिए भने ट्रेन्ट बोल्ट, एडम मिल्ने, लुकी फर्गुसन र इश सोढीले एक एक विकेट लिएका थिए ।
यो जितपछि भारतले टी-२० सिरिज ३-० ले जितेको छ ।
भारत भ्रमणमा रहेको न्यूजील्याण्डको क्रिकेट टिमले अब २ खेलको टेस्ट सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल नोभेम्बर २५ देखि हुने छ ।




