राजनीति

कांग्रेस लमजुङ प्रदेश ‘क’ को सभापतिमा दरजंग गुरुङ निर्वाचित

लमजुङ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लमजुङ प्रदेश ‘क’ को सभापतिमा दरजंग गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार प्रतिद्वन्द्वी विजय गुरुङलाई ४० मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवापक्ष मानिएका दरजंग गुरुङले ३२८ मत प्राप्त गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिएका विजय गुरुङले २८८ मत प्राप्त गरे ।

प्रदेश ‘क’ को पदाधिकारीमा पनि दरजंग गुरुङको टीम विजयी भएको छ । उपसभापतिमा धनप्रसाद गुरुङ ३२३ मत र मंगामाया गुरुङ ३१३ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी गोविन्द दवाडीले २५९ मत र डीलप्रसाद अधिकारीले २६५ मत ल्याएका छन् ।

सचिवमा टेकेन्द्रनाथ चिलुवाल ३३३ मत र विमल पौडेल ३०१ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी पशुपति अधिकारीले २६० र योगेश्वर घिमिरे योगेशले २४२ मत ल्याएका थिए ।

सहसचिवमा ऋषिराज दवाडीले ३३९ मत र राजन दवाडीले २८३ मत ल्याएर निर्वाचित भए । प्रतिद्वन्द्वी दीपेन्द्र चिलुवालले २४१ र भारती गुरुङले २७० मत प्राप्त गरेको मतदान अधिकृत यज्ञराज घिमिरेले बताए । शुक्रबार भएको निर्वाचनमा प्रदेश ‘क’ मा कुल ६६७ प्रतिनिधिमध्ये ६४४ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *