सर्लाही । पार्टीको अधिवेशन गर्ने विषयमा सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ ।
बिहीबारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलंगवामा झडप भएको हो । पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् ।
दुई पक्षीय छलफल भइरहेका बेला पौडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले जानकारी दिए । सर्लाही क्षेत्र नम्बर ४ का संघीय संसद् अमरेशकुमार सिंह समर्थित कार्यकर्ताले निर्वाचन अधिकृतिमाथि हातपात गरेको बताइएको छ ।
कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
बिहीबार जिल्लाभरका २० पालिकाको २०० वडामा चुनाव गर्ने पूर्वसहमति भएको थियो । सर्लाहीमा आजका लागि तय भएको वडा अधिवेशन दुई पक्षीय विवादका कारण अन्योल भएको छ ।
सर्लाहीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद रहँदै आएको छ ।




