राजनीति

म्याग्दी कांग्रेसको सभापतिमा खमवीर दोस्रो पटक निर्विरोध

म्याग्दी।सभापति पदमा एकल उम्मेदवारी परेपछि नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजा (खमवीर) आउने कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।

बुधबार सुरु भएको सातौं जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै उम्मेदवारी परेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध सभापति बनेका हुन्। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका गर्वुजा ब्रिटेनी सेनाबाट अवकाश भएपछि त्यसयता राजनीतिमा सक्रिए छन्।

दोस्रो संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार भए पनि उनले जित हासिल गर्न सकेनन्। गर्वुजा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षधर हुन्।

त्यसैगरी अधिवेशनबाट महिलातर्फ जिल्ला सदस्यमा बेनी नगरपालिकाबाट मनकुमारी तुलाचन, अन्नपूर्ण गाउँपालिकाबाट महिला सदस्यमा पुष्पा बानियाँ बरुवाल, धवलागिरि गाउँपालिकाबाट महिला सदस्य रामदेवी पुन चयन भएका छन्।

अन्यतर्फको सदस्यमा काजीमान रोका, मालिका गाउँपालिकाबाट मनरुपा पुन र अन्यतर्फको जिल्ला सदस्यमा मालिका गाउँपालिकाबाट चुनु पुन, मङ्गला गाउँपालिकाबाट महिलातर्फको जिल्ला सदस्यमा युगकुमारी सेन, खस आर्यतर्फको महिला सदस्यमा लक्ष्मीकुमारी केसी निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधितर्फ अपाङ्ग÷अन्यतर्फ सुरेन्द्र खत्री निर्विरोध भएका छन्।

अधिवेशनमा दुई जना निर्वाचित हुने जिल्ला उपसभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा कर्णबहादुर भण्डारी, माधवप्रसाद रेग्मी, क्याप्टेन डमबहादुर पुन, क्याप्टेन मीनबहादुर कार्की, हरिकुमार श्रेष्ठ र कमल छन्त्याल छन्।

दुई जना निर्वाचित हुने सचिव पदमा अजय मिलन श्रेष्ठ, भरत रकाल, दुर्गाराम सुवेदी र हिराबहादुर पुन गरी चार जनाको उम्मेदवारी परेको छ। यस्तै दुई जना निर्वाचित हुने सहसचिव पदमा कोमलप्रसाद उपाध्याय, ध्रुवराज कार्की र श्रीराम पौडेल गरी तीन जनाको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *