काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नो शक्ति देखेर हमला भइरहेको टिप्पणी गरेका छन् । बिहीबार सम्पादकहरुसँगको छलफलमा नेता सिंहले आफूलाई काठमाडौं बाहिर चिन्दैनन् भन्नेलाई महाधिवेशनमा देखाइदिने समेत चेतावनी दिए ।
नेता सिंहले भने, ‘काठमाडौंबाहिर कसले चिनेको छ ? भन्नेलाई अब म देखाउँछु, प्रतिस्पर्धा गरौँ । फेसबुकमा फोटो राखेर देश घुमेको मानिन्छ ?’ गत सोमबार सर्लाहीमा पार्टी कार्यकर्तासँगको कुराकानीमा महामन्त्री डा. शशांक कोइरालाले काठमाडौंबाहिर प्रकाशमानलाई धेरैले नचिन्ने टिप्पणी गरेका थिए । त्यसको जवाफ दिँदै सिंहले आफूले नेवारलाई मात्र हेर्छ भन्नु भ्रममात्र भएको पनि बताए ।
नेता सिंहले पार्टी संस्थागत रुपले सञ्चालन गर्न आफूले सभापतिमा उम्मेदवारी दिने बताए । आफू ब्यक्तिमुखी भएर नभई जनता र कार्यकर्ताको सुझाव बमोजिम नीति बनाएर पार्टी सञ्चालन गर्न चाहेको उनको भनाइ छ ।




