ताजा समाचार

सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं । सिंहदरबारमा सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । सरकार सञ्चालनमा सहयोग गर्न गठन गरिएको सत्ता गठबन्धनको संयन्त्रको पहिलो बैठक सिंहदरबारमा बसेको हो ।

गठबन्धनमा रहेका सबै दलको प्रतिनिधित्व हुने गरी गत कात्तिक २२ गते सत्तारुढ सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट २–२ जना सदस्य रहनेछन् । यस्तै, मन्त्रिपरिषद्‌बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सदस्य छन् ।

नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल (प्रचण्ड) र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव कुमार नेपालसहित १ जना, जनता समाजवादीबाट उपेन्द्र यादवसहित १ जना तथा जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल संयन्त्रका सदस्य हुने छन् ।

संयन्त्रको नेतृत्व सबै दलले २–२ महिनाका लागि गर्ने सहमति भएको छ । अहिलेका लागि कांग्रेसबाट रामचन्द्र पौडेल संयन्त्रको संयोजक रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *