काठमाडौँ । म्यान्मारमा ११ बर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार डेनी फेनस्टरलाई जेलबाट रिहा गरिएको छ ।
सेना प्रमुख जुन्ताका प्रवक्ता मेजर जनरल जा मिन तुनले बिबिसीसँग कुरा गर्दै ३७ बर्षिय पत्रकार फेनस्टरलाई म्यान्मार छोड्ने अनुमति दिइएको जानकारी दिएका हुन् ।
म्यान्मारको एक सैनिक अदालतले अमेरिकी पत्रकार फेनस्टरलाई तीन दिन अघि मात्र ११ बर्षको जेल सजाय सुनाएको थियो ।
उनलाई इमिग्रेसन कानुनको उलंघन र म्यान्मारको सेनाविरुद्ध असन्तोषलाई प्रोत्साहित गरेको आरोप लगाइएको थियो ।
उनलाई देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग समेत लगाइएको थियो । यी आरोपको फैसला अझै आउन बाँकि रहेको बेला उनलाई रिहा गरिएको छ ।
फेनस्टर म्यान्मारको अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यान्मारका प्रबन्ध सम्पादक थिए । उनलाई गत फेब्रुअरीमा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो ।
फ्रन्टियरले फेनस्टर यस अघि प्रतिबन्धित स्वतन्त्र समाचार साइट म्यान्मार नाउमा काम गर्दाको आरोप अहिले लगाइएको बताएको छ ।
फेनस्टरको अचानक रिहाईको विषय स्पष्ट भएको छैन । यद्यपी म्यान्मारका लागि पुर्व अमेरिकी राजदुत बिल रिचर्डसन अहिले म्यान्मारमै रहेकाले पत्रकार फेनस्टरको रिहाइका लागि उनले मध्यस्थता गरेको हुनसक्ने अनुमान गरिएको छ ।




