ताजा समाचार

६ वर्षपछि भाइटीकामा खुल्दै रानीपोखरी

काठमाडौं । ६ वर्षपछि पहिलोपटक यसपालि भाइटीकाको दिनमा रानीपोखरी खुल्ने भएको छ । भाइटीकाको दिनमा खुले पनि छठमा भने बन्द रहने काठमाडौं महानगरपालिकाले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाका दिन रानीपोखरी खुल्न लागेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै यो वर्ष व्यवस्थित रूपमा दर्शन र टीकाको कार्यक्रम गर्ने गरी एक दिनका लागि रानीपोखरी खुला गर्न लागिएको जानकारी दिनुभयो । रानीपोखरी परिसरलाई सौन्दर्यीकरण गर्न थप गृहकार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो– ‘राजधानीको बीच भागमा रहेको रानीपोखरीले राजधानीको परिचय दिने भएकाले यसलाई थप सुन्दर पारेर मात्र खुला गर्ने तयारीमा छौं ।’

दिदीबहिनी नभएकाले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले रानीपोखरीलाई पूर्णरूपमा क्षति पु(याएको थियो । पुनर्निर्माण पूरा नभएका कारण अघिल्लो वर्ष रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बाहिरै टीका लगाइएको थियो ।कामपाको स्वामित्वमा रहेको रानीपोखरी पुनर्निर्माण गर्ने विषयमा पुरातत्व विभाग र कामपाबीच विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको थियो । प्राधिकरणले काम शुरु गरेको करिब तीन वर्षमा पुनर्निर्माण सम्पन्न गरेको छ ।काम सम्पन्न गरे पनि हालसम्म प्राधिकरणले स्वामित्व हस्तान्तरण नगरेको मेयर शाक्यको भनाइ छ । उहाँका अनुसार स्वामित्व हस्तान्तरण नगरेको कारण बाँकी काम गर्न र छठमा खुला गर्न समस्या परेको हो ।

रानीपोखरी सर्वसाधारणका लागि खुला गर्ने विषयमा कार्यपालिकाको बैठक बसेर निर्णय गरिने जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘सबै सदस्य बसेर निर्णय गर्नेछौं । पुनर्निर्माण प्राधिकरणले रानीपोखरी कामपालाई हस्तान्तरण गरेपछि मात्रै कसरी आकर्षक र व्यवस्थित रूपमा खोल्ने भन्ने विषयमा निर्णय गरिनेछ ।’कामपा प्रहरी प्रमुख धनपति सापकोटाका भने भाइटीकाको दिन मात्र खुला गर्ने र त्यसपछि सम्पूर्ण रूपमा तयारी नभएसम्म खुला नगरिने भनेर कुनै निर्णय नभएको बताउनुहुन्छ । उहाँका अनुसार भूकम्पअघि दुई वर्षसम्म रानीपोखरीमा छठ मनाउन स्वीकृत दिइएको थियो र त्यसयता बन्द गरिएको हो ।
आजको नेपालसमाचारपत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *