काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । बुधबार राति ला लिगा अन्तर्गत भएको खेलमा रायो भालेकानोसँग १(० ले पराजित भएपछि क्लबले मुख्य प्रशिक्षक ५८ वर्षीय कोम्यानलाई नै बर्खास्त गर्ने निर्णय गरेको हो ।
भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ । यस्तै कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने पनि बार्सिलोनाले जनाएको छ ।
प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्तीमा परेका हुन् । यस सिजन बार्सिलोनाले ला लिगामा १० खेलबाट जम्मा १५ अंक जोडेको छ । यस्तै च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको छ । भालेकानोसँग पछिल्लो हारपछि बार्सिलोना ला लिगाको अंकतालिकामा नवौं स्थानमा छ ।
कोम्यानको बर्खास्तपछि अब फेरि बार्सिलोनामा को प्रशिक्षक आउने भन्ने प्रश्न उठेको छ । र, यसमा सबैभन्दा अघि आउने नाम क्लबकै पूर्व मिडफिल्डर तथा कप्तान जाभी रहेका छन् । जाभी हाल कतारी क्लब अल शादका प्रशिक्षक छन् ।




