ताजा समाचार

वायु प्रदूषण जाँच्न नयाँ मापदण्डः दबाबमा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।

ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले सन् २००५ मा निर्धारण गरेको मापदण्डमा वायुमण्डलमा पिएम २।५ को स्तर प्रतिघनमिटर वायुमा वार्षिक सरदर १० माइक्रोग्राम हुनुपर्ने उल्लेख थियो।

संशोधित मापदण्डमा यसलाई ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएकोे छ। वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २।५ माइक्रोमिटर तथा त्यसभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २।५ को रूपमा मापन गरिन्छ।

नयाँ मापदण्डले वायु प्रदूषणका कारक तत्वको स्तरलाई घटाएर जनस्वास्थ्यको सुरक्षामा सहयोग पुग्ने दाबी डब्लुएचओको छ। वायु प्रदूषणका लागि जिम्मेवार केही कारक तत्वमध्ये जलवायु परिवर्तनसमेत भएको डब्लुएचओको तर्क छ।

सन् २००५ मा मापदण्ड तय गरिएपछिका वर्षमा भएका विभिन्न अध्ययनले वायु प्रदूषणले मानव स्वास्थ्यका विभिन्न पक्षलाई अत्यधिक प्रभावित पार्ने देखिएकाले अधिकांश मानकलाई घटाउनु परेको डब्लुएचओले स्पष्ट पारेको छ।

वायु प्रदूषणका लागि प्रमुख रूपमा जिम्मेवार मानिएका ६ कारक तत्वअन्र्तगत पिएम २।५, पिएम १०, ओजोन, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड र कार्बन मनोअक्साइडसँग सम्बन्धित मानकलाई घटाइएको हो।

नयाँ मापदण्डको विश्वव्यापी कार्यान्वयनले लाखौं मानिसको जीवन रक्षा हुने तर्क डब्लुएचओको छ। मानिसको रौंको व्यासभन्दा कैयन गुना साना आकारको तथा वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको पिएम २।५ सूक्ष्म कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्साससम्बन्धी अन्य रोग निम्ताउन सक्ने मानिन्छ।

पछिल्ला अध्ययनले वायु प्रदूषणले मस्तिष्कघात, फोक्सोमा क्यान्सर, सरदर उमेर घटाउने र कोभिड–१९ बाट हुने मृत्युदरसमेत बढाएको देखाएका छन्। वायु प्रदूषणका कारण विश्वमा प्रत्येक वर्ष झन्डै ७० लाख मानिसको मृत्यु हुने गरेको छ भने लाखौंको स्वस्थ हिसाबले बाँच्ने उमेरमा ह्रास आएको अध्ययनले देखाएका छन्।

विशेषगरी हावामा रहेका विषाक्त कणले बालबालिकाको फोक्सोको आकार र कार्यलाई प्रभावित पार्ने तथा श्वासप्रश्वास प्रणालीमा संक्रमण तथा दमरोग बढाउने देखिएको छ।

यसैगरी घरबाहिरको प्रदूषण ९आउटडोर पोलुसन० का कारण प्रौढमा हृदयरोग, हृदयाघात, चिनीरोग र मस्तिष्क कोषमा क्षय हुने पाइएको छ। डब्लुएचओले विश्वमा अस्वस्थ खाना तथा चुरोट सेवनका कारण सिर्जना हुनेजत्तिकै रोगभार वायु प्रदूषणजन्य रोगको रहने गरेको बताएको छ।

विश्वभरिका नेता संयुक्त राष्ट्रसंघको ७६औं महासभामा न्युयोर्कमा भेला भइरहेको बेला सार्वजनिक यो मापदण्डले जनस्वास्थ्य, वायुको गुणस्तर कायम गर्न तथा जलवायु संकटलाई सम्बोधन गर्ने विश्वास गरिएको छ। ‘यो अत्यन्त सकारात्मक निर्णय हो,’ पाटन क्याम्पस वातावरण विभाग प्रमुख डा। शीला मास्के वैद्यले भनिन्। उनले वायुमा रहेका विषाक्त कणले विश्वका जहाँकहीं रहेका मानिसलाई झन्डै समान असर पार्ने भएकाले नेपालले पनि आफ्नो मापदण्डमा तत्काल समीक्षा गर्न आवश्यक रहेको बताइन्। नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ। डब्लुएचओले पिएम २.५ को संशोधित मापदण्ड ५ माइक्रोग्राम प्रतिघनमिटर तोकेको हिसाबले नेपालको राष्ट्रिय मापदण्ड ८ गुनाले बढी छ।
नागरिकमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *