ताजा समाचार

मुलुकभरि रासायनिक मल अभाव

काठमाडौं । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन।

राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो। ‘धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ,’ पूर्वअध्यक्ष अधिकारीले भने, ‘किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन्।’ सम्बन्धित निकाय जवाफदेही नहुँदा बर्सेनि धान रोप्ने र गोड्ने बेला मल अभाव हुने गरेको अधिकारी बताउँछन्। ‘मल आपूर्तिको जिम्मेवारी पाएका निकायमा दायित्वबोध भएन,’ उनले भने, ‘सधैं नीतिगत समस्या देखाएर पन्छिनेरपन्छाउने काम भएको छ।

सम्बन्धित निकायले जिम्मेवारी नलिएसम्म समस्या दोहोरिरहन्छ।’ सरकारले जेठ १५ मा मल किन्न बजेटको सुनिश्चितता गर्दा पनि मल ल्याउन नसक्नु सम्बन्धित निकायको अक्षमता भएको अधिकारीको आरोप छ। रासायनिक मल आयात गरेर आपूर्तिको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पुरानो स्टक रित्तिँदै गएपछि किसानले मल पाउन छाडेका छन्।

अहिले मुलुकमा ८ हजार ६ सय ६४ मेट्रिक टन मात्र रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार युरिया ३ हजार ३ सय ४५ मेट्रिक टन, डिएपी २ हजार २ सय ३५ मेट्रिक टन, पोटास ३ हजार ८४ मेट्रिक टन मौज्दात छ। धान गोड्दा युरिया मल प्रयोग हुने भएकाले माग उच्च छ।

सरकारले हरेक वर्ष बजेट भाषण ९जेठ १५० मा नै रासायनिक मल खरिद गर्न बजेट सुनिश्चित गरे पनि खरिद प्रक्रियामा ढिलाइ हुने गरेको छ। चालु आर्थिक वर्ष २०७८र७९ का लागि मल खरिद गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ। मल ल्याउन सम्झौता गरेका कम्पनीले ठेक्का तोडेका कारण आपूर्तिमा समस्या भएको मन्त्रालयले जनाएको छ। कृषि सामग्री कम्पनीका अनुसार मल खरिद गर्न आह्वान गरेको टेन्डर १४औं पटकसम्म रद्द भएको छ।

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अचाक्ली बढेका कारण ठेकेदारले सम्झौता तोेड्दा अभाव भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए। गत वर्षको सेप्टेम्बर दोस्रो साता प्रतिटन ४ सय ५० डलर मूल्य रहेको डिएपीको मूल्य बढेर ८ सय ८१ डलर पुगेको मन्त्रालयले जनाएको छ। त्यसैगरी प्रतिटन ४ सय ५१ डलर रहेको युरिया मलको मूल्य बढेर ६ सय ५१ डलर पुगेको छ।
नागरिक दैनिकमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *