बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने सम्भावना उच्च रहेको बताएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ । स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।
उद्धार कार्य सुरु भएयता अबको केही दिन निकै जोखिमपूर्ण रहेको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बताएका छन् । अगस्ट ३१ मा उद्धारकार्यको समयसीमा सकिँदै छ ।
बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए । इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्त (आईएस–के) ले उक्त हमलाको जिम्मेवारी लिएको छ ।
बिहिबारको आक्रमणको बदलामा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको नान्गहार प्रान्तमा ड्रोन आक्रमण गरी आईएस–के का दुई उच्च पदस्थ सदस्यहरूलाई मारिदिएको थियो । उनीहरूलाई बिहीबार भएको आक्रमणको योजनाकारका रूपमा लिइएको छ । आत्मघाती आक्रमणमा संलग्नलाई खोजेरै छोड्ने भन्दै राष्ट्रपति बाइडनले त्यो नै अन्तिम आक्रमण नभएको बताएका छन् । तर, अमेरिकाले आफूहरूसँग परामर्श नगरेको भन्दै तालिबानले भने अमेरिकी आक्रमणको निन्दा गरेको छ ।
उता आईएसले तालिवानले अमेरिकासँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको आरोप लगाएको छ ।




