घटना १
बाथरुममा चिप्लेर वरिष्ठ अधिवक्ता विश्वनाथप्रसाद उपाध्यायको मस्तिष्कमा चोट लाग्यो। उपचार गर्दागर्दै ७ भदौ, २०७८ मा ज्यान गयो।
घटना २
बिहानको नित्यकर्म गर्न शौचालय जाने क्रममा निजी विद्यालय सञ्चालकहरूको छाता संगठन ९प्याब्सन० का पूर्वअध्यक्ष डा। बाबुराम पोखरेलको निधन भयो। बाथरुममा लडेका ६३ वर्षीय पोखरेललाई अस्पताल पु¥याइए लगत्तै चिकित्सकले मृत घोषणा गरे, २३ पुस २०७४ मा।
घटना ३
नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी जयकुमारनाथ शाहको बाथरुममा लडेर टाउकोमा चोट लाग्यो। ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा भदौ २१, २०७४ मा मृत्यु भयो।
बाथरुम सजाउने र चिल्लो बनाउने चलन आजभोलि सुरु भएको छ। बाथरुममा महँगा–महँगा टायल राख्न थालिएको छ। सोही टायलमा चिप्लेर धेरैले ज्यान गुमाइसकेका छन्। बाथरुममा लडेर घाइते हुनेको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। १० पुस २०७३ मा राति हात धुन गएका उमेशचन्द्र घिमिरे बाथरुममै लडे। अचेत अवस्थामा फेला परेका घिमिरेको होस नआइकन ज्यान गयो।
६ माघ ०७३ मा दाङका शेरबहादुर खड्काको ज्यान पनि बाथरूममा चिप्लिएर गयो। यी केही प्रतिनिधिमूलक घटना हुन्।
ट्वाइलेट एवं बाथरुमलाई ‘स्टेटस सिम्बोल’का रूपमा लिइन्छ। सोहीअनुसार सतहमा चिल्लो टायल राखिन्छ। जसमा चिप्लेर लड्नेहरू अचेत अवस्थामा फेला पर्ने गरेका छन्। काठमाडौं, गोकर्णेश्वर नगरपालिका—६ नयाँबस्तीस्थित देवराज गुरुङको देव पश्मिना कारखानामा काम गर्ने बंगलादेशी नागरिक ३३ वर्षीय गुलाम नबीको शौचालयमा लडेर मृत्यु भयो।
वरिष्ठ न्युरो फिजिसियन प्रा।डा। जगदीशप्रसाद अग्रवालका ज्येष्ठ नागरिकको शरीरको संरचना कमजोर हुने र औषधि सेवन गरिरहेका कारण विशेष ध्यान दिनुपर्ने बताउँछन्। प्रोस्टेटको समस्या भएका पुरुषहरूलाई पटक–पटक पिसाब लागिरहन्छ। उनीहरू शौचालयमा लड्ने जोखिम हुन्छ। डा। अग्रवाल भन्छन्, ‘प्रोस्टेटको औषधि सेवन गरिरहेका पुरुषमा ‘पोस्टुरल हाइपोटेन्सिन’ ९पिसाब फेर्न उभिँदा रक्तचाप तल झर्ने० समस्या हुन सक्छ। मस्तिष्कमा रगत सञ्चार हुन नपाएर रिंगटा लाग्छ। शौचालयमा चिप्लिनेरलड्ने डर हुन्छ।’
शारीरिक कमजोरीका कारण वृद्धावस्थामा धेरै औषधि सेवन गरिरहेका हुन्छन्। ‘उभिँदा नै रक्तचाप घट्न सक्छ,’ डा। अग्रवालले भने, ‘उमेरअनुसार पनि शरीरले सन्तुलन पाउँदैन। हाड पनि कमजोर भएकोले लड्दा भाँचिने जोखिम हुन्छ।’
घाइते बढ्दै
हेल्पिङ ह्यान्डस् सामुदायिक अस्पताल चाबहिलका वरिष्ठ हाड तथा नसा रोग विशेषज्ञ डा। गणेश गुरुङ बाथरुममा चिप्लेर, लडेर घाइते अवस्थामा आउनेहरूको संख्या दिनानुदिन बढ्दै गएको बताउँछन्। ‘रेस्टरुमका रूपमा ट्वाइलेट एवं बाथरुमलाई आधुनिक बनाउने चलनले समस्यामा पारेको छ। केही नभएको व्यक्तिलाई लडाएर घाइते रुम बनाउन थालिएको छ,’ डा। गुरुङले भने।
घर, कार्यालय, रेस्टुराँ, अस्पतालमा बनाइएका बाथरुममा सजग हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बाथरुम निर्माण गर्दा असावधानीले बालबालिका, गर्भवती र वृद्धवृद्धालाई सास्ती हुने गरेको छ। बाथरुम फोहोर र चिप्लो हुँदा लडेर घाइते हुने सम्भावना बढी हुन्छ। कमोड र बेसिनको बीच भागमा सावर राख्दा बाथरुमको सतह चिप्लो हुन्छ।
ज्यानको जोखिम
उमेर ढल्किँदै जाँदा वृद्धवृद्धाहरूको शरीरको संरचना नै गल्दै जान्छ। शरीरको संयन्त्र नै कमजोर भएकोले लठ्ठी टेक्दै बाथरुम जानुपर्ने अवस्थामा बाथरुम एवं शौचालयमा लड्ने जोखिम बढी हुन्छ।
आँखा पनि राम्रोसँग नदेख्ने र शरीरको पनि भर गर्न नसक्ने अवस्थामा वृद्धवृद्धाका लागि बाथरुम एवं शौचालयको निर्माणमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।
बाथरुम एवं शौचालयमा लड्नेहरूको टाउको, घाँटी, मेरुदण्ड, हात, खुट्टामा चोट लाग्ने सम्भावना बढी हुन्छ। ‘हिप, जोर्नीमा धेरै असर देखिएको छ। कतिपय अवस्थामा शल्यक्रियासमेत गर्नुपर्छ,’ उनले भने।
आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।




