काठमाडौं । कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताएका छन्। उनले भने, ‘सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।’
उनले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिए । सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय गरेर चार दिन अघिदेखि विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । करिब एक साता अघि बसेको बैठकमा कोरम नपुगे पनि अधिकांश सांसदले परीक्षा स्थगित गर्न नहुने धारणा राखेका थिए ।
त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउने निर्णय गरेको थियो । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप लगाएपछि परीक्षा शुरु गर्ने गरी सरकार अघि बढेको जानकारी दिँदै भने, ‘अब कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेर परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय गर्ला ।’
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कक्षा १२ को स्थगित परीक्षा लिने विषयमा छलफल भइरहेको बताए । उनले भने,– ‘विद्यालय तहको अन्तिम परीक्षा भएकाले भौतिक उपस्थितिमै गर्नुको विकल्प नभएको तर्क राख्दै दशैंअघि वा लगत्तै परीक्षा सञ्चालन गर्ने सम्भावना छ ।’
आजको नेपालसमाचार पत्रमा खबर छ ।




