ताजा समाचार

२४ वर्षपछि दोस्रोपटक पार्टी फुटाए पूर्वमहासचिव नेपालले

काठमाडाैं । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा बनाएको छ ।

पार्टीभित्र दर्जनौंपटक भएको संवाद र भेटवार्ता निरर्थक भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार नयाँ दल नेकपा एमाले ९समाजवादी० पार्टी निर्वाचन आयोगमा दर्ता गराउनुभएको छ । नयाँ पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहनुभएको छ । नेपाल नेतृत्वको पार्टीले ९५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

नेपाल नेतृत्वमा गठन गरिएको एमाले ९समाजवादी० पार्टीमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी ३१ सांसदहरु सहभागी छन् । नेपाल समूहमा लामो समयदेखि सक्रियता देखाउँदै आएका दोस्रा तहका नेताहरु भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृत बोहोरा र रघुजी पन्त भने पार्टी विभाजनको प्रक्रियामा सहभागी भएका छैनन् ।

नेपाल समूहले एमालेले १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न संसद् सचिवालयसँग माग गरेको छ । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले नेपालसहित १४ सांसदको पद खारेज गरेको थियो । एमालेले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद खारेज गर्ने पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो ।
यसअघि २०५४ सालमा महाकाली सन्धिको विषयलाई लिएर पार्टीभित्र विवाद भएपछि वामदेव गौतमले एमाले विभाजन गर्दै नेकपा ९माले० पार्टी गठन गर्नुभएको थियो । अहिले २४ वर्षपछि एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले अध्यक्ष ओलीसँग विधि र पद्दतिलाई मुख्य एजेन्डा बनाउँदै पुनः एमाले विभाजित गर्नुभएको छ । पार्टी विभाजन गरेको चार वर्षपछि गौतम पुनः एमालेमै फर्किनुभएको थियो । त्यसपछि २०५९ सालमा तत्कालीन उपाध्यक्ष अशोक राईलगायतका नेताहरुले जनजातिको मुद्दामा पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै पार्टी परित्याग गर्नुभएको थियो ।
आजको नेपालसमाचार पत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *