काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकि छिन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकि हुन् ।
नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकि छिन् ।
मुख्यमन्त्री शाक्यको पृष्ठभूमि
एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकि थिइन् । काठमाडौँ शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी उनको धैरे समय राजनीतिमै बितेको छ । विसं २०५६ मा काठमाडौँबाट सांसद बनेकि उनी दोस्रो संविधानसभामा सदस्यसमेत भइन्। उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीमा सफलतापूर्वक निर्वाह गरिन् ।
शाक्य झण्डै चार दशकको राजनीतिक जीवनबाट अझै क्रियाशील छिन् । ६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लागिन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ परेकि थिइन् र त्यसपछि अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत थिइन्। उनी निरन्तररुपमा पार्टीमा सक्रिय महिला नेतृमध्ये एक हुन् ।
मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनको नेवार परिवारमा भएको थियो । आमाबुबाका आठ सन्तानमध्ये उहाँ दोस्रो सन्तति हुन्। मुख्यमन्त्री शाक्य र उनका पति अमृतकुमार बोहराबीच विसं २०३८ मा जनवादी विवाह भएको थियो । उनका एक छोरा र एक छोरी छन्।
भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गरेकि थिइन्। उनीसहित बोहरा अहिले पनि राजनीतिमा सक्रिय छन् । नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा आउने गर्दछ । उनले १८ वर्षको उमेरमा विद्यालय तह उत्तीर्ण गरेपछि चिनियाँ भाषा अध्ययन गरेकि थिइन् । शाक्यले विसं २०२८ मा एसएलसी पास गर्नुभयो । एसएलसी दिएपछि शाक्य चिनियाँ भाषा सिक्ने काममा लाग्नुभयो । किशोरावस्थामै राजनीतिक चेतना जागेकाले उहाँलाई चिनियाँ भाषा सिक्ने अवसरले राजनीतिमा जाने प्ररेणा मिलेको थियो ।
उनले रत्नराज्य क्याम्पसबाट उच्च शिक्षाको अध्ययन थाल्नु भई प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत रहँदा तत्कालीन शिक्षा अव्यावहारिक र ‘बुर्जुवा शिक्षा’ रहेको भन्दै अध्ययनलाई बीचमै छाडेकि थिइन्। मुख्यमन्त्री शाक्यले वामपन्थी बुद्धिजीवी महेशमान श्रेष्ठमार्फत साम्यवादका बारेमा प्रशिक्षण पाएकि थिइन् । चिनियाँ भाषाको ज्ञान भएकाले उनले माओत्सेतुङको जीवनी र चीनको पुनःनिर्माणमा उनको योगदानका बारेमा अध्ययन गरेकि थिइन् ।।
चिनियाँ भाषा सिकेपछि शाक्य चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको बताइन्छ । उनले विभिन्न समयमा जेल जीवनसमेत बिताएकि थिइन् । अखिल नेपाल महिला सङ्घको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताइन्। विसं २०४६ मा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला उनीसहित अन्य थुप्रै नेता पक्राउ परेका थिए । उनले जेल जीवन बिताउँदा झापामा सिस्नुपानी लगाएको बताइन्छ । प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेका उनी विसं २०४६ मा देशमा बहुदल स्थापना भएपछि जेलमुक्त भएकि थिइन् ।
शाक्यले २०३६ देखि २०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आएको बताइन्छ । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला सङ्घको नेतृत्वसमेत गरिन् । उनले एमालेको मुस्लिम सङ्गठन, कानून विभाग र संसदीय सुनुवाइ समितिको प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकि छिन् । एमालेको महिला सङ्गठनलाई मजबुद बनाउन शाक्यको विशेष भूमिका रहेको छ । तत्कालीन अवस्थामा एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट उपाध्यक्ष बनिन् ।




