काठमाडाैं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् ।
तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएका छन् । उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको मौका छोपेर पूर्वयुवराज पारस निर्मल निवास बस्न थालेका हुन् ।
स्रोतका अनुसार उनकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहेका छन् । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बस्न थाल्नुभएको निर्मल निवास स्रोतले बताएको छ ।
आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास नबस्नुभएका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गरेको बताइएको छ ।
‘हिमानी सरकार कोरोना महामारीका कारण थाइल्याडमा अड्किएकाले पारस सरकार निर्मल निवासमा बस्दै आएका छन् । नेपाल फर्किएपछि उनस् परिवारसँग यति लामो समय सँगै बसेको देखिएको थिएन । अहिले तीन महिना भइसकेको छ’ –निर्मल निवासका एक कर्मचारीले बताए ।
करिब तीन महिनादेखि आफ्ना छोरीहरू पूर्णिका र कीर्तिकासँगै थाइल्यान्डमा बसिरहेकी पूर्वयुवराज्ञी हिमानी उतै अड्किएका छन् । नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि थाइल्यान्डले नेपालको उडानमा केही समयका लागि रोक लगाएका कारण उनी थाइल्यान्डमै अड्किएका छन्।
थाइल्यान्डमै बस्ने गरी नेपाल छाडेका पारस महिला काण्डमा विवादित भएपछि ३ वर्षअघि नेपाल फर्किएका हुन् । बेलाबेलामा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने गरेका पारस उपत्यका बाहिर पनि विभिन्न मठमन्दिरमा दर्शनका लागि जाने गर्छन् । पछिल्लो समयमा लामो समय निर्मल निवासमा बसिरहेको भए पनि विवादमा फसिरहने पुरानो बानीमा भने खासै सुधार आएको देखिएको छैन ।
करिब एक साताअघि नारायणगोपाल चोकमा हेल्मेटबिना नै मोटरसाइकल चलाएको अवस्थामा ट्राफिक प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई मनपरी गाली गरेका थिए। । सो घटनामा पारसको गाली खाएका ट्राफिक प्रहरीले निरीह भई उनलाई त्यतिकै छाडेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
नेपाल समाचारपत्रमा खबर छ ।




