ताजा समाचार

हातमा स्टेस्थोस्कोप लिएपछि पियन पनि डाक्टर !

काठमाडौं । चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ। मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो एन्टिबायोटिक हो। यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ।’

बिरामीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए। तर, उनी त स्वास्थ्य चौकीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन्। बिरामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डाक्टर ठानेर आफ्ना स्वास्थ्य समस्या सुनाइरहेका थिए। तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बिरामी जाँच्थे।

तामाङले बिरामी जाँच्ने मात्रै होइन, औषधि पनि दिने रहेछन्। यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो। मैले २०५१ सालदेखि स्वास्थ्य चौकीमा काम गरेँ। त्यहाँ सरहरूले सिकाएर बिरामी जाँच्न जानेको हुँ। मैले जाँचेर धेरैलाई ठीक बनाएको छु।’

स्वास्थ्य चौकीमा लामो समय काम गरेको आधारमा आफूलाई अनुभव भएको उनले बताए। निमोनिया, रुघाखोकी, ज्वरोका बिरामी निको पार्ने गरेको उनको भनाइ छ।

‘रुघाखोकी, ज्वरो, निमोनिया, पखालाको उपचार मैले गर्छु। यो बाहेकका बिरामीलाई मैले सकिनँ भने सरलाई बोलाउने अनि उहाँहरूले रिफर गर्दिनुहुन्छ’, उनले भने, ‘हामी पालैपालो आएर चलाउँछौं। अहिले स्वास्थ्य चौकीमा दुई जना मात्रै भएकाले मलाई पठाउनुभएको हो।’

खासमा उनको काम बिहान स्वास्थ्यचौकी खोल्ने, सरसफाइ गर्ने र पानी भर्ने हो। त्यसपछि अर्को ड्युटी रहेछ, मेडिकलमा गएर बिरामी जाँच्ने। स्वास्थ्य चौकीकै कर्मचारीले उनलाई त्यता पठाउँछन्। मेडिकलमा बिरामी आएको खबर आउनासाथ उनी दौडिहाल्छन्। जँचाउन पुग्नेहरूलाई उनी डाक्टर हुन् कि पियन भन्ने थाहा हुँदैन। बिरामीसँग सोधपुछ गरेर अनुमानका भरमा औषधि दिन्छन्।

स्वास्थ्य चौकीमा गए पनि औषधि लिन फेरि आउनुपर्ने भएकाले सोझै मेडिकल आएको बिरामीका आफन्त बताउँछन्। ‘त्यहाँ गए पनि यही पठाउँछन्’, ज्वरो आएको छोरालाई जँचाउन दुई घण्टा हिँडेर आएका राम प्रजाले भने, ‘सबै औषधि यही लिन आउने भएप्छि त्यहाँ नगएको।’

उनले स्वास्थ्यकर्मीसँग मिलेर उक्त मेडिकल सञ्चालन गरेको खुलेको छ। मेडिकलमा तामाङसहित स्वास्थ्यचौकीका इन्चार्ज महेश भट्टराई, अहेव समीक्षा श्रेष्ठ, सिनियर अनमी सुनिता गुरुङ, अनमी सुस्मिता थापाको लगानी रहेछ।

तामाङले दिनभर मेडिकलको व्यापार बढाउँछन्। हरेक महिना आएको नाफा बराबर बाँड्छन्। उनले आफ्नै घरमा मेडिकल राखेका छन्। त्यसबापत उनले घर भाडा लिँदैनन्। पालो लगाएर मेडिकलमा बिरामी जाँच्छन्। अहेव श्रेष्ठले एक जनाले १० हजार रुपैयाँ लगानी गरेको बताइन्।

उनीहरूले बिरामीलाई सकेसम्म मेडिकलमा बोलाउँछन्। स्वास्थ्य चौकीमा जानेहरूलाई बिरामी पुर्जी पनि दिँदैनन्। कागजको टुक्रामा औषधिको नाम मात्रै लेखेर औषधि किन्न पठाउने गरेको पाइएको छ। अहेव श्रेष्ठले चेपाङहरूले च्यातेर फाल्ने हुनाले बिरामी पुर्जा नदिएको बताइन्।

‘यहाँबाट मेडिकलसम्म पुग्दा च्यातिहाल्छन् भनेर पुर्जा नदिएको’, उनले भनिन्, ‘औषधी लिने त हो। त्यसैले चिटमा औषधीको नाम लेखेर दिन्छौं।’ यसअघि आउनेहरूले यही गरेको भएर आफूहरूले यस्तै गरेको उनले बताइन्।

पूर्व–पश्चिम राजमार्गको भण्डाराबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्छ यौरालीटार। राप्ती नगरपालिकाका वडा नम्बर १२ र १३ चितवन जिल्लाकै विकट भेग हुन्। छिमेकी जिल्ला मकवानपुरको राकसिराङबाट पनि बिरामी उपचारका लागि यहाँ आउँछन। पियनसँग स्वास्थ्य जाँच गराएर फर्किन्छन्।

अधिंकाश चेपाङको बसोबास भएको क्षेत्रमा स्वास्थ्यकर्मीले ठगी धन्दा चलाउँदै आएको देखिन्छ। स्वास्थ्य चौकीमा मुस्किलले १० जना पुग्छन्। त्यसको दोब्बरभन्दा बढी मेडिकल जान्छन्। स्वास्थ्य चौकी आएका बिरामीलाई स्वास्थ्यकर्मीले नै मेडिकल पठाउँछन्।

अन्नपूर्ण पाेस्ट्मा खबर छ ।तस्वीरः अन्नपूर्ण पाेस्ट्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *