एजेन्सी । कोपा अमेरिकाअन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनल चरणको अन्तिम खेलमा जित हात पार्दै अर्जेन्टिना र कोलम्बियाले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले अन्तिम क्वार्टरफाइनल खेलमा इक्वेडरलाई ३–० ले पराजित गरेको हो । अर्जेन्टिनाले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
टोलीको सुरुवाती दुई गोलको अवसर मिलाइदिएका मेसीले तेस्रो गोल आफैले गरेका हुन् । अर्जेन्टिनालाई खेलको ४०औं मिनेटमा रोड्रिगो डी पलले १–० ले अघि बढाएका थिए । उनले लियोनल मेस्सीको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ८४औं मिनेटमा लउटारो मार्टिनेजले मेस्सीकै सहयोगमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयको तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै टोलीको जित ३–० ले निश्चित गरेका हुन् । अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ ।
कोलम्बिया आइतबार बिहानै भएको अर्को खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमै टुंगिएपछि टाइब्रेकरमार्फत खेलको निर्णय लिइएको थियो ।




