एजेन्सी । कोपा अमेरिकाअन्तर्गत बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ ।
खेलको नवौं मिनेटमै एक गोलले पछि परेको ब्राजिललाई रोबर्टो फर्मिनोले ७७औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए।
खेलको निर्धारित ९० मिनेटसम्मको नतिजा १–१ गोलको बराबरी भए पनि नेयमारको पासमा कासिमेरोले गोल गरेसँगै ब्राजिलले कोपा अमेरिकामा लगातार तेस्रो जित निकालेको छ।
कोलम्बियाका लागि लुइस डियाजले गोल गरेका थिए। उनको गोलसँगै पहिलो हाफमा एक गोलको अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफको लामो समयसम्म पनि अग्रता लिएको थियो। खेलमा ब्राजिलले ७० प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो ।
यो जितसँगै समूह बीमा ब्राजिलको नौ अंक छ। चार खेलबाट चार अंक बनाएको कोलम्बिया समूहको दोस्रो स्थानमा छ। तेस्रो स्थानको पेरुको चार अंक छ भने चौथो र पाँचौ स्थानमा रहेका इक्वेडर र भेनेजुएलाको समान २–२ अंक छ।
ब्राजिलियन पूर्वखेलाडी पेलेको सर्वाधिक एसिस्टको रेकर्ड नेयमारले तोडेका छन्। उनले कोलम्बियाविरुद्धको खेलमा कासिमेरोलाई एसिस्ट गर्दै पेलेको रेकर्ड तोडेका हुन्। उनले अहिलेसम्म ब्राजिलको टिमबाट ४८ एसिस्ट गरिसकेका छन्, जुन पेलेको भन्दा धेरै हो।




