एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत डेनमार्क र फिनल्याण्ड बीच (समूह बी) को खेल पहिलो हाफपछि स्थगित भएको छ । पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।
बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन)पनि दिएका थिए ।
झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको छ । डेनमार्कका खेलाडी निकै चिन्तामा देखिन्थे भने केही खेलाडीको आँसु समेत झरेको थियो ।
उनलाई हृदयघात भएको अनुमान गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण यो खेल रद्द गरिएको जनाएको छ । अहिले एरिक्सनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र परिवारसग फोनमा कुराकानी गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।




