काठमाडौं । ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। ईराकको बसरामा शनिबार मध्यरातमा भएको खेलको सातौं मिनेटमा घरेलु टिमले अग्रता लिएको थियो। उसका लागि कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे।
एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो। आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अब्राहम खलाफले आफ्नै पोस्टमा गोल गरेका थिए।
३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको अवस्थामा गोल गरेका थिए। खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर त्यसलाई लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
दोस्रो हाफको ६८ मिनेटमा सुमन अर्यालको ब्याक पास मिस हुँदा अली अलसम्मारीले इराकका लागि पाँचौ गोल गरे।
७४ मिनेटमा सज्जदा जसमिले डिबक्सबाट उत्कृष्ट गोल गर्दै इराकको अग्रता ६(२ मा पुर्याएका थिए।
नेपालले आगामी साता कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।
अब नेपाल इराकबाट छनोट प्रतियोगिता खेल्ने कुवेत प्रस्थान गर्नेछ।
एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।




