जेरुसेलम । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गरेका छन्।उनले प्यालेस्टाइन र इजरायलको भ्रमणपछि इजिप्ट र जोर्डनको भ्रमण गर्न लागेका छन् ।
इजरायल र हमास विद्रोही समूहबीच ११ दिने युद्धपश्चात् भएको युद्धबिरामलाई स्थायित्व दिने प्रयास स्वरुप विदेश मन्त्री ब्लिन्केन इजरायल, प्यालेस्टाइन, इजिप्ट र जोर्डनको भ्रमण गरेका हुन् ।
इजिप्टको कायरोतर्फ प्रस्थान गर्नुअघि विदेश मन्त्री ब्लिन्केनले बुधबार इजरायली अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । युद्धबाट जर्जर भएको गाजा क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन अमेरिकाले सम्पूर्ण प्रयास गर्ने मन्त्री ब्लिन्केनले प्रतिबद्धता व्यक्त गरे ।
तर उनले अमेरिकी अग्रसरतामा उपलब्ध हुने सहायता हमास समूहलाई उपलब्ध नहुने स्पष्ट पारे ।
कायरो प्रस्थान गर्नुअघि ब्लिन्केनले इजरायली राष्ट्रपति रुभेन रिभलिनलाई आगामी हप्ताहरुमा अमेरिका भ्रमणका लागि राष्ट्रपति बाइडेनले गर्नुभएको आमन्त्रण पत्र हस्तान्तरण गरेका थिए। रिभलिनको कार्यालयका अनुसार राष्ट्रपति रुभिन रिभलिनले बाइडेनको आमन्त्रणलाई स्वीकार गर्नु भएको छ ।
ब्लिन्केनले इजिप्ट र जोर्डनले यस क्षेत्रमै शान्ति ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । अमेरिकी गठबन्धनका यी दुई मुलुकहरुले इजरायलसँग शान्ति सम्झौता गरिसकेका छन् । दुबै मुलुकले इजरायल र प्यालेस्टिनी नागरिकबीच उत्पन्न हुने संकटका अवस्थामा मध्यस्थता गर्दै आएका छन् ।
विदेश मन्त्री ब्लिन्केनले मङ्गलबार पत्रकारहरुसँग कुरा गर्दै युद्धबिराम गराउन इजिप्टले अति महत्वपूर्ण भूमिका निर्वाह गरेको र जोर्डनले क्षेत्रीय शान्ति एवं स्थायित्वका लागि निरन्तर आवाज उठाउने गरेको बताए ।
इजरायल र गाजासँग सीमा जोडिएको इजिप्टमा विदेश मन्त्री ब्लिन्केनले राष्ट्रपति अब्देल फताह अल–सिसि र अन्य वरिष्ट अधिकारीहरुसँग भेटघाट गर्ने छन् भने ब्लिन्केनले इजरायल र हमासबीच युद्धबिरामका लागि मद्दत गर्न फोन समेत गरेका थिए।
विदेश मन्त्रीका रुपमा ब्लिन्केनको यो मध्यपूर्वको पहिलो औपचारिक भ्रमण हो । मङ्गलबार इजरायली र प्यालेस्टिनी अधिकारीसँग भएका भेटवार्तामा विदेश मन्त्री ब्लिन्केनले दुबै पक्षबीच वार्ता गराउन वातावरण तयार गर्ने विश्वास दिलाए।
ब्लिन्केनले प्यालेस्टिनीका लागि चार करोड अमेरिकी डलरको सहायता उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । यो सहित बाइडेन प्रशासनले प्यालेस्टाइनका लागि करिब ३६ करोड डलरको सहायता उपलब्ध गराउने छ ।
विगतमा ट्रम्प प्रशासनले उक्त सहायता रोक्का गरिदिएको थियो ।
पश्चिम किरानाको रमाल्लाहमा प्यालेस्टाइन अथरिटीका राष्ट्रपति महमुद अब्बाससँगको भेटवार्तामा विदेश मन्त्री ब्लिन्केनले प्यालेस्टिनी जनताको पक्षमा अमेरिका उभिइरहने प्रतिबद्धता व्यक्त गरे ।




