लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
प्रदेशसभाका सभामुखलाई मंगलबार पत्र लेख्दै उनले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका हुन् ।
“नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८÷०१÷२६ गते प्रदेशसभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु”, पत्रमा भनिएको छ ।
संविधानको धारा १८८ को ४ मा प्रतिबन्धात्मक वाक्यांशमा मुख्यमन्त्रीविरुद्ध पहिलो २ वर्ष र एक पटक अविश्वासको प्रस्ताव राखेर असफल भएको खण्डमा त्यसको एक वर्षभित्र अविश्वास प्रस्ताव पेश गर्न नमिल्ने व्यवस्था छ।
गत वैशाख २६ गते प्रदेशका प्रतिपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।




