सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।
प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । श्री नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ ।
यसैबीच प्रदेश प्रमुख कलौनीसँग आइतबार भएको भेटमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई प्रदेश सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि चालेका थप कदमबारे तथा प्रदेश अस्पतालमा ’डेडिकेटेड कोरोना उपचार संयन्त्र’ को व्यवस्था गरी प्रदेशलाई पर्याप्त हुने गरी अक्सिजन उत्पादनका काममा सरकार लागिसकेको जानकारी दिए।
प्रदेश प्रमुख कलौनीले जनताको जीवनरक्षाको कामलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्न र अपुग अक्सिजनको तत्काल व्यवस्था गर्न सुझाव दिए। उनीहरुबीच प्रदेश अस्पतालको वर्तमान क्षमता र अवस्थाबारे पनि छलफल भएको थियो ।




