समाचार

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

 
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताए ।     

“विभिन्न सङ्घसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर सङ्कलन गरेर एकद्वार प्रणालीबाट कोरोना सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको हो”, उनले भने, “अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर सङ्कलन भइरहेको छ ।” जिल्ला प्रहरी कार्यालयले बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। आठवटा पसल, ग्यारेज तथा उद्योगमा रहेका १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर सङ्कलन गरेर हस्तान्तरण गरिएको प्रनाउ राईले बताए ।

कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने गरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर सङ्कलन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाले बेनी अस्पताललाई २० थान सिलिण्डर उपलब्ध गराएको छ । व्यक्तिका घर तथा पसलमा प्रयोगविहीन अवस्थामा रहेका सिलिण्डरसमेत उपलब्ध गराउन अपिल गरिएको छ । कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेसँगै देशभर अक्सिजनको अभावमा उपचार प्रभावित बनेको छ ।

म्याग्दीमा पनि अक्सिजन अभावको अवस्था आउन नदिन अक्सिजन सिलिण्डर सङ्कलन र भरेर राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । म्याग्दीमा करिब ३०० थान अक्सिजन सिलिण्डर भएको अनुमान छ । बेनी अस्पतालसँग ५४ थान सिलिण्डर थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालका अनुसार २५ वटा सिलिण्डर रिफिल गर्न (भर्न )पठाइएको छ । अस्पतालको ३० वटा शय्यामा अक्सिजन उत्पादन केन्द्रबाट पाइपमार्फत सिधै अक्सिजन पठाउने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु १० लाख बजेटले प्लान्टबाट अस्पतालको शय्यामै अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको छ । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको अस्पतालका प्रमुख जितेन्द्र कँडेलले बताए । अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ ।

एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको छ । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा रु ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत रु ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो । सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *