एजेन्सी । गंगा नदीले बगेको अवस्थामा मंगलबार फेरि ७१ वटा शव भेटिएका छन् । पछिल्लो पटक महादेव घाटमा दर्जनौं शव भेटिएका थिए । मंगलबार पनि ७१ शवहरु भेटिएका छन् । जसलाई बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ।
तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ। यसअघि पनि उत्तर प्रदेशको गाजिपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए।
भारतमा अहिले कोरोना संक्रमणले तिव्र रुपमा फैलिएको छ। जससँगै मृत्युदर पनि उच्च छ । पछिल्लो समय मृत्यु संस्कार गर्न घाटमा दाउरा अभाव भएका छन्। त्यसकारण पनि शव गंगा नदिमा बगाइएको हुन सक्ने आशंका गरिएका छन्
शवको सनाखत हुन सकेको छैन । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहारको गंगा किनारमा पछिल्ला केही दिन यता यत्रतत्र भेटिन थालेको हो।
यसबारे छानबिन गर्न मोदी सरकारलाई उच्च दबाब परेको छ। मोदी सरकारका जल शक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले गंगा नदीमा शव फ्याक्नुलाई दुर्भाग्यपूर्ण भनेका छन् । गंगा नदीको निर्मलता र अविरलताका लागि मोदी सरकार प्रतिबद्ध रहेको बताउँदै उनले राज्य सरकारलाई यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न पनि भनेका छन् ।




