वीरगन्ज । संक्रमण दर उच्च रहेको पर्सामा पछिल्लो समयमा कोरोना संक्रमितको उपचारका लागि बेड अभाव भएको छ । नारायणी अस्पतालको आकस्मिक विभागको एउटै बेडमा तीन–तीन जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको अस्पतालले बताएको छ ।
संक्रमित उपचारका लागि नारायणी अस्पतालले आकस्मिक विभागको एकापट्टि आइसोलेसन वार्ड र अर्कोपट्टि आकस्मिक कक्ष सञ्चालनमा ल्याएको थियो । तर, अहिले संक्रमित संख्या बढेपछि आकस्मिक कक्षमा आएका कोरोना शंकास्पदलाई पनि संक्रमितसँगै राखेर उपचार थालिएको छ ।
अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासका अनुसार नारायणीको आइसोलेसनमा ४९ जना संक्रमितको उपचार भइरहेको छ । ‘
सिकिस्त बिरामी आउने क्रम बढेपछि अस्पतालले थप ४८ शय्याको आइसोलेसन वार्ड बनाएको छ । अस्पतालका अनुसार सिकिस्त बिरामीलाई मात्र भर्ना लिइएको छ ।
गत चैत २९ मा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीले जिल्लास्थित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरु कोभिडको उपचारका लागि पर्याप्त नभएमा नेसनल मेडिकल कलेजले व्यवस्थापन गरेको कोभिड १९ अस्थायी बाबा अस्पताललाई पुनस् सुरु गराउन आवश्यक व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको दुई साता बितिसक्दा पनि बाबा अस्पताललाई पुनस् सुरु गराउन सकिएको छैन ।




