एजेन्सी । काेराेना महामारीबाट गम्भीर रूपमा प्रभावित राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन पूर्ण रूपमा सकिएको चिकित्सकहरूले जनाएका छन्।
अन्य अस्पतालहरूमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ। अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले ज्यान गुमाएका छन्। ९९ प्रतिशतभन्दा धेरै सघन उपचार कक्षका शैय्या बिरामीले भरिएको अधिकारीहरूले जनाएका छन्।
अक्सिजन आपूर्ति प्रभावित हुँदा लुटपाट हुन थालेको विवरण आएका छन्। दिल्लीस्थित एपोलो अस्पतालका प्रबन्ध निर्देशक पी शिवकुमारले आफ्नो अस्पतालमा ३५० जना सङ्क्रमितको उपचार भइरहेको र सबैलाई अक्सिजनको खाँचो रहेको सुनाए।
सङ्क्रमित भइ दिल्लीको अस्पतालमा उपचार गराइरहेका राजनीतिकर्मी सौरभ भारद्वाजले ट्वीट गर्दै आफू रहेको अस्पतालमा तीन घन्टा पुग्ने अक्सिजन मात्र रहेको जानकारी दिँदै सहयोगको अपिल गरेका छन्।
भारतको सर्वोच्च अदालतले सरकारलाई अक्सिजन तथा अत्यावश्यक औषधिको चरम अभावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ।
यस्तो अवस्थाकाबीच आलोचना खेपिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियान रद्द गरेको बताइएको छ।




