काठमाडाैं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालीन एमाले)लाई अघि बढाउने र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष फैसलाविरुद्ध पुनरावलोकन गर्ने तयारीमा लागेका छन् ।
ओलीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताइरहेको बेला आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनीनिकट सांसदले तत्कालीन एमालेलाई नै अघि बढाउन सुझाव दिएका छन् । सुझावपछि ओलीले एमालेको बैठक बोलाउने र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए । एकताका बेला ओली एमालेको अध्यक्ष थिए । एकतापछि बनेको नेकपाको पनि उनी अध्यक्ष थिए ।
पार्टी एकता प्रक्रिया नसकिँदै प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा ओली र दाहाल–नेपाल समूहमा विभाजित भएको अवस्थामा सर्वोच्चबाट यस्तो फैसला आएको हो। दाहाल–नेपाल समूहले भने सर्वोच्चको यो निर्णयले मुलुक झन् अन्योलमा फसेको बताउँदै थप छलफलका लागि सोमबार ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ।
आजको नागरिक दैनिकमा समाचार छ ।




