हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले बिहान ६ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् ।
सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरूलाई दिएका थिए । सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
मंगलबार दाहाल–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुनः बैठक स्थगित गरेका हुन् । यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दबाबमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए ।




