एजेन्सी । म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ। सेनाको बख्तरबन्द गाडी सडकमा देखिएका छन् ।
सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन्।
स्थानीय समय अनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ। संयुक्त राष्ट्र सङ्घका एकजना अधिकारीले सेनाले जनताविरुद्ध ‘युद्धको घोषणा गरेको’ आरोप लगाएका छन्। म्यान्मारका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक टम एन्ड्रीउजले सैन्य जनरलहरूले ‘हतोत्साहको सङ्केत’ देखाइरहेको र उनीहरूलाई जबाफदेही बनाइने बताएका छन्।
युरोपेली संघ (इयू), अमेरिका र यूकेले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, ‘हामी सुरक्षा निकायहरूलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गर्छौँ।’
बीबीसीबाट




