ताजा समाचार

गरिबीले दुई सन्तानसहित सुनकोशीका हामफालिन् देवकी नेपाली


सिन्धुली । दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन्। उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीय छोरा भने अझै बेपत्ता छन्।
यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका—१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ। चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन्। मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वर्षीया देवकीको शव सुनकोसी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो।

छोरी–छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ। देवकी गत शुक्रबार साँझ दुई सन्तानलाई लिएर घरबाट निस्किएकी थिइन्। ‘दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी देवकीका पति गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन्। तर, गोपालले अत्यधिक मदिरा सेवन गरेर घर व्यवहार नहेर्ने भएपछि गरिबीको चरम पीडामा परेकी देवकीले आत्महत्या नै गरेको गाउँलेको अनुमान छ,’ स्थानीय शंकर बरालले भने।

देवकीका पति आइतबारदेखि नै बेहोस छन्। वृद्धा सासू, ससुराको होस ठेगानमा छैन। देवकीका माइती भेला भएका छन्। सुस्मिता र सुजनका साथीहरूको पनि आँखाबाट आँसु थामिएको छैन। ‘दुःख गरेरै भए पनि परिवार चलाउँदै आएकी बहिनीले सन्तानसहित नदीमा हाम फालेर प्राणत्याग गरिन्,’ दाजु दीपक नेपालीले भने।

अन्नपूर्ण पाेस्ट्मा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *