राजनीति

आन्दोलनकारी नै सशस्त्र सुरक्षाकर्मीको घेरामा

काठमाडौं । आन्दोलनकारी नै सुरक्षाघेरा भित्र देखियो भन्दा विश्वका जो कोही मानिसहरुलाई अचम्म लाग्नसक्छ । तर नेपालमा भने यो यथार्थ नै सावित भएको छ । सत्तारुढ दल नेकपा विभाजित भएपछि आन्दोलनकारीका नेता सधै हतियारसहितको सुरक्षाघेरामा रहने गरेका छन् । माघ ४ गते काठमाडौँमा आयोजित नेकपाको आफ्नो समूहको उपत्यकास्तरिय भेलामा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए‘ किन–किन मेरो टाउको चिलाएको छ । लाठी खान मन छ ।’ तर त्यसअघि र त्यसपछि भएका सबै प्रकारका आन्दोलनमा उनी सशस्त्र प्रहरीको सुरक्षा घेराबाट बाहिर आएका छैनन । जहाँ गएपनि सशस्त्र प्रहरीको सुरक्षा घेरामा रहेका छन् । यो बिचमा भएका आन्दोलनमा उनी सडकमा उत्रिए पनि तर उनको लाठी खाने रहर पुरा भएको छैन ।

संसद् विघटनविरुद्ध आन्दोलनमा होमिएको नेकपामा दाहाल–नेपाल समूह बिहीबार संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा नेपाल बन्दमा उत्रिएको छ। चोक–चोकमा नेकपा कार्यकर्ता उभिएका छन् । बन्द सफल बनाउन प्रचण्ड आफैँ चोकहरूमा पुगेर सम्बोधन गरिरहेका छन्। कार्यकर्ताको हौसला बढाउन उनी कोटेश्वर, ग्वार्कोहुँदै अन्य चोकहरूमा समेत पुगे । सडकमा प्रदर्शनकारीसँगै छपक्कै प्रहरी र सशस्त्र प्रहरी पनि छन् । तर बिहीबार पनि लाठी खाने उनको रहर भने पुरा भएन । प्रचण्ड आन्दोलनमा हिँडिरहेका त छन् तर सशस्त्र प्रहरीको बलियो घेरामा । उनी सशस्त्रको पछुवा गाडीसहित हिँडिरहेका छन् जहाँ एसएमजीसहितका सुरक्षाकर्मी छन । उनी जुन चोकमा पुग्छन् वरिपरि सशस्त्र प्रहरीले सुरक्षा घेरा बनाइहाल्छ । उनको व्यक्तिगत सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले साथ छाडेकै छैनन् । उनको छायाँ बनेर हिँडिरहेका छन् उनी ।

पूर्व प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड बाक्लो सुरक्षा घेरामा हिँड्ने गरेका छन् । उनको सुरक्षामा अगुवा र पछुवासहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति खटिने गरेका छन् । उनको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको कमान्डमा २९ जना सुरक्षाकर्मी परिचालित छन् भने सशस्त्रबाट ३० जना खटिएका छन । उनी सार्वजनिक कार्यक्रममा जाँदा नेपाल प्रहरी र सशस्त्रबाट बडीगार्ड खटिन्छन । सार्वजनिक कार्यक्रममा वरिपरि सुरक्षाकर्मीको घेरा हुन्छ । उनी शान्ति प्रकृयामा आएदेखिनै सुरक्षा घेरामा रहेका छन् । सरकारले उनको सम्पूर्ण सुरक्षाको जिम्मा लिएका कारण पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीकोतर्फबाट सुरक्षाकर्मी खटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *