काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माधवकुमार नेपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले फैलाएका भ्रम फैलाएका कारण त्यसलाई चिर्न आफूपक्षीय नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सोमबार कार्यकर्ताहरूलाई अपिल जारी गर्दै नेपाल–दाहाल समूहले प्रधानमन्त्री ओलीले संविधानमाथि ’कू’ गरेर प्रतिनिधि सभा विघटन गर्दा पनि उल्टै भ्रम पार्न खोजेको भन्दै चिर्न निर्देशन दिएका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरे जस्तो प्रतिनिधिसभा जुनसुकै बेला विघटन गर्न पाउने विशेषाधिकार प्रधानमन्त्रीलाई यो संविधानले दिएको छैन तर, प्रधानमन्त्री सोह्रै आना झुट बोलेर संविधानको गलत व्याख्या र परिभाषा गर्दै हिँडिरहेका छन् । आफूमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेका छन्,’ सो अपिलमा भनेका छन् ।
राष्ट्रपतिबाट देश, जनता र संविधानमाथि के कस्तो आघात पर्छ भन्ने सोच्दै नसोची प्रधानमन्त्रीको सिफारिसलाई सदर गरिएको भन्दै नेपाल दाहालले आपित्त जनाएका छन् ।
‘नेपाली जनताको दशकौंको बलिदानपूर्ण संघर्षको परिणामस्वरुप हामी देशमा निरंकुश राजतन्त्रलाई समाप्त गरी सामन्तवादको राजनीतिक आधारलाई उन्मूलन गर्न सफल भयौं । नेपाली जनताद्वारा आफ्नो सार्वभौमसत्ताको अभ्यास गरी संविधानसभाबाट नेपालको संविधान निर्माण गर्दै ऐतिहासिक राजनीतिक परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरियो ।
नेपाली जनताले कम्युनिष्ट पार्टीको सिद्धान्त, कार्यक्रम र घोषणापत्रलाई विश्वास गरेर प्रतिनिधिसभामा अत्यधिक मत (झण्डै दुई तिहाई) दिए । हाम्रो पार्टीप्रति जनताको यस्तो विश्वास कायम गराउनका लागि लाखौं र्यकर्ताको अमूल्य श्रम, त्याग–तपस्या खर्च भएको छ’, सो अपिलमा भनिएको छ । त्यसैगरी लाखौं कार्यकर्ताले जीवनका सुन्दर दिनहरु पार्टी निर्माणमा लगाउनु भएको र यो पार्टी निर्माणमा हजारौं सहिदहरुले आफ्नो जीवनको बलिदान दिनुभएको उल्लेख गर्दै सो समूहले राष्ट्रियताको सुदृढीकरण, लोकतन्त्र र जनजीविकाको प्राप्तिको निम्ति भएको संघर्षमा प्रगतिशील समुदायले सदैव साथ दिएको उल्लेख गरेका छन् ।




