एजेन्सी । उपचारपछि स्वदेश फर्किएका रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी विमानस्थलबाटै पक्राउ परेका छन् ।
आइतबार राति बर्लिनबाट आएको उनी चढेको जहाज सेरेमेत्येभो विमानस्थलमा अवतरण हुनासाथ उनलाई रूसी अधिकारीहरूले नियन्त्रणमा लिएका हुन्।
नाभाल्नी रूसी राष्ट्रपति भ्लादिमर पुटिनका खरो आलोचक मानिन्छन् । उनले भष्ट्रचारविरुद्ध अनुसन्धान थालेपटि पुटिनको तारो बन्दै आएका थिए ।
गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ ।
उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरुले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिररहेका थिए ।
रूसी प्रशासनले उनलाई स्वदेश फर्किएपछि पक्राउ गर्नसक्ने चेतावनीबीच उनी राजधानी मस्को आएका थिए ।
क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको बताउँदै यसक्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएकोे बताउनुभएको छ ।
उहाँ आइतबार ग्रीनवीच समय अनुसार साँझ ४ः२० मा बर्लिनबाट मस्कोका लागि जानुभएको हो । मस्कोको भेनुकोभो विमानस्थलमा उहाँ चढेको विमान अवतरण हुने बताइएको छ । रूसी प्रशासनले उहाँलाई जेलबाट छुट्दा गरेको प्रतिवद्धता उल्लङ्घनको आरोपमा पुनः पक्राउ गरी छानविन हुनसक्ने बताएको छ ।




