हेटौंडा । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ । अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए
वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ । गाउँपालिकाले आफ्नै लगानीमा छ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो । वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७र०७८ को बजेटमा गाउँपालिकाले रु एक करोडका दरले रु पाँच करोड विनियोजन गरेको थियो थियो । रु एक करोड जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि छ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताए ।
ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो । छ वटा मध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । अरु पाँच वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन् । मनहरी गाउँपालिकामा नौ वटा वडा रहेका छन् ।
अध्ययनका लागि अनुसन्धान केन्द्रमा सम्झौता
वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लास्थित वनस्पति अनुसन्धान केन्द्र र विद्यार्थीलाई थप अध्ययनका लागि जिल्लामा रहेको एक सामुदायिक विद्यालयबीच सम्झौता भएको छ । केन्द्र र जनप्रिय माध्यमिक विद्यालय, हेटौँडा–१६ बीच विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ‘ओजेटी’ (अन द जब) का लागि समझदारी भएको हो । सम्झौताअनुसार छ महिना अवधिसम्मका लागि माध्यमिक तह, बाली विज्ञान विषयको ‘अन द जब’ तालिमका लागि कार्यथलो वनस्पति अनुसन्धान केन्द्रले उपलब्ध गराउनेछ ।
सम्झौताअनुसार विद्यार्थीले ओजेटी गर्न पाउनेछन् । नर्सरी तथा बिरुवा उत्पादन, फूल बिरुवा रोपण तथा स्याहारसम्भार, नर्सरी तयारी तथा फलफूल बिरुवा उत्पादन, जडीबुटी नर्सरी, वनस्पति उद्यान व्यवस्थापन तथा वानस्पतिक संरक्षणजस्ता क्षेत्रको सिकाइको अवसर पाउने छन् ।
वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुली र विद्यालयका प्रधानाध्यापक नमराज अर्यालबीच सम्झौतामा हस्ताक्षर भएको हो । वनस्पति उद्यानका विभिन्न उद्देश्यमध्ये शैक्षिक उद्देश्य पनि महत्वपूर्ण रहेको वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख पराजुलीले बताए। विद्यालयबाट अनुरोध भएकाले अध्ययनरत विद्यार्थी वनस्पतिसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने अवसरबाट वञ्चित नहोउन् भनेर यो अवसर दिलाइएको उनको भनाइ छ ।
उक्त अवसरमा वनस्पति अनुसन्धान केन्द्रबाट एक जना सुपरीवेक्षक तोकिने र सुपरीवेक्षकको सुपरीवेक्षणमा रही विद्यार्थीले व्यावहारिक सिकाइ लिनेछन् । विद्यालयले उपलब्ध गराएको मूल्याङ्कन फारामअनुसार विद्यार्थीको मूल्याङ्कन सुपरीवेक्षकबाट गराउनुपर्नेछ । विद्यार्थीले वनस्पति उद्यानभित्र निषेध गरिएका कार्य गर्न भने पाउने छैनन् र विद्यार्थीको व्यावहारिक सिकाइमा सहजीकरण गर्नका लागि विद्यालयबाट एक जना सम्पर्क व्यक्ति तोकिने छ ।




