एजेन्सी । कप्तान लियोनेल मेस्सीको एकमात्र निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेमाथि १–० को जित निकालेको छ ।
बार्सिलोनाका अधिकांश प्रहारमा लेभान्टेका गोलरक्षक एइटर बाधक बनेका थिए । बार्साका लागि मार्टिन ब्राथवेट, क्लेमेन्ट लेंग्लेट, जोर्डी अल्बा र एन्टोनी ग्रिजमानको प्रहार गोलकिपर एइटोर फर्नान्डेजले विफल बनाएका थिए ।
खेलको ७६औं मिनेटमा फ्रान्की डि जोङको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।
जितसँगै बार्सिलोना ११ खेलबाट १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित लेभान्टे ११ अंक जोडेर १८औं स्थानमा रहेको छ ।




